Kath khabar
खाने तेलमा भारत सरकारको नयाँ निर्णयले नेपालको ५३ अर्ब निर्यात प्रभावित !

काठमाडौं, कात्तिक १ । भारतले खाने तेलको कच्चा पदार्थको आयातमा लाग्ने भन्सार महसुल घटाएको छ । यो सँगै ५३ अर्बको तेल निर्यात प्रभावित हुने भएको छ ।

भारतमा बिहिबारदेखि नयाँ भन्सार दर कार्यान्वयनमा आएको छ। तेलको मूल्यमा भएको भारी बृद्धिलाई कम गर्न भारत सरकारले तेलको भन्सार दर घटाएको हो । सुर्यमुखी तेलको भन्सार २० प्रतिशतबाट घटाएर ५ र पाल्म तेलमा लाग्ने कर २० बाट घटाएर ७ दशमलव पाँच प्रतिशत कायम गरेको छ । त्यस्तै सुर्यमुखी तेलको गेडामा २ दशमलव पाँच प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पुर्णरुपमा हटाएको छ ।

यसको सिधा असर तेस्रो मुलुकबाट तेलको कच्चा पदार्थ आयात गरेर शुन्य भन्सारमा भारतमा तेल निर्यात गर्ने नेपालका सिमित उद्योगीहरुको ब्यापारमा प्रभाव पर्ने देखिएको छ । नेपालका ब्यापारीले भारतमा आयात हुने कच्चा तेलमा लाग्ने उच्च करको फाइदा उठाउँदै तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरेर सिमा क्षेत्रमा प्रशोधन गरी भारत निर्यात गर्दै आएका थिए । तर, यसले नेपालको तेल मूल्यमा भने कुनै असर गर्नेछैन ।

भारतले यसरी कच्चा पाम आयल, सोयाबिन तथा सुर्यमुखी तेलमा भन्सार घटाएपछि भन्सार दर फरक भएका कारण नेपालबाट निर्यात गरि फाइदा लिने व्यवसायीलाई भने असर पर्ने भएको छ । जसका कारण नेपालबाट भारततर्फको निर्यात पनि घट्ने भएको छ । किनकि नयाँ व्यवस्था अनुसार अब नेपालमा भन्दा भारतमै प्रशोधित तेल सस्तो पर्ने छ । तेस्रो मुलुकबाट आयात गरिएको कच्चा तेल प्रशोधन गरेर भारत निर्यात गर्दा भन्सार दर फरक परेकै कारणमात्र नेपालका तेल उद्योगीलाई फाइदा भएको थियो ।

पछिल्लो तीन वर्षदेखि नेपालको भारततर्फ सबैभन्दा बढी निर्यात हुने वस्तु खाने तेल रहेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भटमास सहित २० अर्बभन्दा बढीको खानेतेल भारततर्फ निर्यात भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update