Kath khabar
साफ च्याम्पियनसिपमा सहभागी टीमलाई कुश्मा नगरपालिकाद्वारा पुरस्कार घोषणा


पर्वत, कात्तिक १ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले रु दुई लाख पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टिमलाई पुरस्कारस्वरुप उक्त रकम दिने घोषणा गर्नुभएको हो ।

“नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट रु दुई लाख पुरस्कारको घोषणा गर्दछु”, नगरप्रमुख जोशीले भन्नुभयो । खेलाडीको सम्मान गर्न सकेमात्रै नेपाली खेलकूद क्षेत्र विकास हुने भएकोले आफूले उक्त रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको जोशीले बताउनुभयो ।

सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो मुलुकका लागि ऐतिहासिक भएको उहाँले बताउनुभयो। नगरपालिकाले छिट्टै नगरसमिति बैठक डाकेर उक्त पुरस्कार रकम नेपाली खेलाडीसमक्ष पुर्याउने जोशीले बताउनुभयो  ।

(रासस)

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update