Kath khabar
२४ घण्टामा २० वटा ग्यास बुलेट उपत्यका प्रवेश, ग्यासको समस्या नहुने

काठमाडौं, वैशाख १७ । सरकारले निषेधाज्ञामा पेट्रोलियम पदार्थ तथा एल.पि.ग्यासको समस्या नहुने जनाएको छ । नियमित आपूर्ति भइरहेको हुदाँ पेट्रोल, डिजेल, खाना पकाउने एल.पि.ग्यास र हवाई इन्धनको समस्या नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

 नेपाल आयाल निगम लिमिटेडसँग हाल ४८ हजार २ सय ४५ किलोलिटर पेट्रोलियम पदार्थ र निगमबाट यस महिना ग्यासको कोटा ४६ हजार ३ सय ३२ मेट्रिक टन वितरण गरेको हुँदा ग्यासको आयात नियमित रुपमा भइरहेकोले आपूर्तिमा कुनै समस्या  नभएको बताइएको छ । 

मन्त्रालयका अधिकारीहरुका अनुसार पेट्रोलयिम पदार्थ एवं खाना पकाउने एल.पि.ग्यासको आपूर्ति व्यवस्था सहज छ, आयातमा कुनै अवरोध नभएको कारण पेट्रोलयिम पदार्थ एवं ग्यासको समस्या हुने छैन । यसैबीच मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । 

यता प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार गत बिहीबार सम्ममा ४ सय ४० वटा माल बाहक ट्रक तथा ग्यास बुलेटहरु उपत्यका प्रवेश गरेका छन् । जसमध्ये १२ वटा हवाइ इन्धन टंयाकर, २० वटा ग्यास बुलेट, २१ वटा पेट्रोल, १ सय २ वटा डिजेल र २ सय ८५ वटा मालबाहक गाडी रहेका छन् । यस्तै मन्त्रालयले खाद्य पदार्थ मौज्दात पर्याप्त रहेको बताएको छ । दुर्गम र सुगम दुवै क्षेत्रमा खाद्य पदार्थ पर्याप्त मौज्दात रहेको तथा आपूर्ति व्यवस्था पनि सहज रहेको छ ।

दुर्गमा २९ हजार ३ सय १४ मेट्रिक टन मौज्दात तथा ५ हजार मेट्रिक टन चामल खरिद प्रक्रियामा रहेको, गहुँ ४ हजार ३ सय ८८ मेट्रिक टन तथा दुर्गममा २ हजार ६ सय ९७ मेट्रिक टन नून मौज्दात रहेको मन्त्रालयको जनाएको छ । 

यता साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सँग १ लाख ५३ हजार ९ सय १ मेट्रिक टन नुन तथा ७ सय ६९ मेट्रिक टन चिनी मौज्दात रहेको बताइएको छ । यस्तै निजी क्षेत्र सँग ५० हजार २ सय ११ मेट्रिक टन चिनी मौज्दात रहेको छ ।

यस्तै सुगम जिल्लाहरुमा ७९ हजार ५ सय ४५ क्वीन्टल र २४ वटा दुर्गम जिल्लाहरुमा २५ हजार ४ सय ९५ क्वीन्टल गरी १ लाख ५ हजार ४१ क्वीन्टल चामल मौज्दात रहेको छ । यस्तै १  लाख ८३ हजार ७ सय १० क्वीन्टल धान, ४ हजार ३ सय ८८ क्वीन्टल मौज्दात गहुँ रहेको छ ।

धान, चामल, गहुँ, मैक लगायतका खाद्यन्नहरु भने २९ लाख ३ हजार १ सय ४० क्वीन्टल मौज्दात रहेको बताइएको छ । जसमध्ये वोलपत्रको माध्यमबाट ५० हजार क्वीन्टल चामल प्राप्त हुने छ । यस्तै पछिल्लो समय सुगम जिल्लाहरुमा १ लाख ९ हजार २ सय ८९ क्वीन्टल, २४ दुर्गम जिल्लाहरुमा ७ हजार ७ सय ८३ क्वीन्टल गरी  १ लाख ८० हजार ७३ क्वीन्टल विभिन्न खाद्यन्न विक्री गरेको मन्त्रालयले जनाएको छ ।  

गृह मन्त्रालयले पनि अति आवश्यक सामग्री बोकेका मालबाहक गाडीहरु उपत्यका प्रवेश गरेको जनाएको छ । गत बुधबार देखि बिहीबार बिहानसम्म अर्थात् २४ घण्टाको अवधिमा दुई सय भन्दा बढी संख्यामा अति आवश्यक सामग्री बाकेको मालबाहक सवारी साधनहरु भित्रिएको जनाएको छ । २४ घण्टामा ५३ वटा तरकारी, ४३ वटा अण्डा, ४१ वटा कुखुरा, ३७ वटा फलफुल, २५ वटा दुध, २१ वटा दाल, २१ वटा घ्यू तेल, २१ वटा चामल, १९ वटा चिनी,१७ वटा मैदा, ११ वटा औषधी, ७ वटा राँगा, ७ वटा खसी, ५ वटा नून, २ वट मैक, २ वटा गहुँ, १ वटा धान, १ वटा अक्सिजन बोकेको मालबाहक सवारी साधन उपत्यका भित्रिएको छ । सरोकारावाला मन्त्रालयहरुले खाद्यन्न, मासुजन्यपदार्थ तथा अक्सिजनको उपत्यकामा अभाव हुन नदिनको लागि निषेधाज्ञामा पनि मुलुक तथा उपत्यकामा आपूर्ति र बिक्री व्यवस्था सहज बनाएको छ । जसले गर्दा आम नागरिकलाई राहत पुग्ने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update