काठमाडौँ, कार्तिक ३ । लिभरपुलका महोम्मद सालह चम्किए पछि च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले एटलेटिको म्याड्रिडमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलका लागि सालहरले ८ र ७८ औँ मिनेटमा गोल गर्नु भयो । उहाँले दोस्रो गोल पेनाल्टी मार्फत गर्नु भएको हो । यस्तै १३ औँ मिनेटमा नाबी केइताले लिभरपुलका लागि थप एक गोल गर्नु भयो ।
एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्रिजम्यानले २० र ३४ औँ मिनेटमा गोल गर्नु भयो। उहाँ ५२ औँ मिनेटमा सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित बन्न पुगेको थियो।
यो सँगै लगातार तीन खेलमा जित निकालेको लिभरपुल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । चार अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ । सोही समूहको अर्को खेलमा एफसी पोर्टोले एसी मिलानलाई १–० ले पराजित गरेको छ । पोर्टो चार अंकसहित समूहको तेस्रो स्थानमा छ ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति नै भएका अरु खेलमा म्यानचेस्टर सिटीले क्लब बर्गलाई ५–१, पेरिस सेन्ट जर्मेन (पिएसजी)ं ले आरबी लेइप्जिगलाई ३–२, रियल मड्रिडले शाख्तर डोनेस्कलाई ५–०, इन्टर मिलानले शरिफ तिरास्पोललाई ३–१, अजाक्सले बोरुसिया डर्टमुण्डलाई ४–० तथा स्पोर्टिङले बेसिक्टासलाई ४–१ ले पराजित गरेका छन् ।