Kath khabar
चीन–भारत सीमामा चीनको अत्याधुनिक रकेट लोन्चर तैनाथ

काठमाडौं, कार्तिक ३ । चीन–भारतबीच सीमालाई लिएर देखिएको विवाद कायमै रहेको छ । दुई मुलुकको सीमा रेखा लद्दाखमा यतिबेला चीनले भने  सयभन्दा बढी अत्याधुनिक रकेट लोन्चर तैनाथ गरेको छ । त्यसबाहेक चिनियाँ सेनाले १५५ एमएम क्यालिबरको पीसीएल–१८१ सेल्फ प्रोपेल्ड होवित्जर पनि तैनाथ गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएको छ ।


रकेट लोन्चरका १० वटा युनिटहरू लद्दाख नजिक तैनाथ गरिएको छ । प्रत्येक युनिटमा चारवटा क्रु मेम्बर छन् । ती उपकरणमा ३०० एमएमको १२ वटा लोन्चर ट्युब छन् । त्यसका रकेटहरू ६५० किलोमिटर दूरीसम्म आक्रमण गर्न सक्षम छन् । यसका १२ मिटर लामा रकेटहरू ६० किलोमिटर प्रतिघन्टाको गतिमा उडान भर्न सक्छन् । यो सँगै शिशिर ऋतुमा पनि सेनालाई सीमामा तैनाथ गर्ने उद्देश्य चीनको रहेको प्रष्ट देखिन्छ ।

चीनले मात्र नभई लद्दाख क्षेत्रमा भारतीय सेनाले पनि दक्षिण कोरियाली प्रविधिमा आधारित के–९ वज्र सेल्फ प्रोपेल्ड होवित्जर तैनाथ गरेको छ । यो भारतीय सेनाको पहिलो सेल्फ प्रोपेल्ड हतियार हो । यसलाई बोक्नका लागि अर्को वाहन आवश्यक छैन र आफैं एक ठाउँबाट अर्को ठाउँ जान्छ ।

यस तोपले ३० सेकेन्डमा तीनवटा गोला प्रहार गर्न सक्छ । यसको रेन्ज ३८ किलोमिटरसम्म छ । दुई मुलुकबीच सीमालाई लिएर देखिएको विवाद अन्त्य हुने तत्काल कुनै पनि भान देखिदैन भने दुवैतर्फ सेना र हतियार थप गर्दै जानाले गर्दा ती मुलुकहरु बीच द्धन्द्ध बढ्ने खतरा यथावत रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update