काठमाडौं, कात्तिक ३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा छ सय ६२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुबाट कुुल आठ हजार २६ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार तीन सय १८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप सात सय ५८ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार पाँच सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौ उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप दुई सय ५० जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा एक सय ९२, ललितपुर जिल्लामा ३५ र भक्तपुर जिल्लामा २३ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार पाँच सय ४४ रहेको छ ।