Kath khabar
निषेधाज्ञाले रोकिएका सेवामा आवेदन दिन  उद्योग विभागद्धारा थप एक महिना समय
उद्योग विभाग

काठमाडौँ, कार्तिक ४ ।  कोभिड–१९ का कारण सरकारले जारी गरेको निषेधाज्ञाले गर्दा रोकिएका विभिन्न सेवामा आवेदन दिन उद्योग विभागले एक महिनाको सयम थप गरेको छ ।

२०७८ बैशाख १५ देखि जारी निषेधाज्ञाका कारण विभागबाट प्रदान हुने केही सेवामा आवेदन दिन नपाएको अवस्थामा कात्तिक १ गतेबाट ३० दिनका लागि विभागले थप समय उपलब्ध गराएको हो ।विभागले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

‘औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार सुरु गर्नका लागि ३० दिनको समय दिइएको छ,’ विभागको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृत गर्ने सम्बन्धमा समय थप गरिएको छ।’

पेटेन्ट, डिजाइन तथा ट्रेडमार्कको प्रमाणपत्र नवीकरण, प्राइभेट फर्म रजिस्ट्रेसन नवीकरणसम्बन्धी सेवामा पनि समय थप गरिएको छ । यसका साथै विभागले निर्यातमा नगद अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि पत्र (संसोधन) २०७५ को दफा ४ को उपदफा २ बमोजिम निर्यात गरेको महिना सकिएको ६० दिनभित्र विभागमा बुझाउनुपर्ने विवरणका लागि पनि एक महिनाको समय थपेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update