काठमाडौंं, कात्तिक ४। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ४५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल आठ हजार पाँच सय ४९ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार तीन सय २६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप सात सय २६ संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार तीन सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप दुई सय १४ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा एक सय ४७, ललितपुर जिल्लामा ५१ र भक्तपुर जिल्लामा १६ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ८५ रहेको छ ।