Kath khabar
प्रथम त्रैमासमा नेपालको उद्योगमा झन्डै डेढ खर्ब लगानी प्रस्ताव, ८७ वटा उद्योग स्थापना गर्ने उद्देश्य
उद्योग विभाग

काठमाडौं, कार्तिक ६  । प्रथम त्रैमासमा नेपालको उद्योग क्षेत्रमा झन्डै डेढ खर्ब लगानी प्रस्ताव आएको छ । स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत् चालू आर्थिक वर्ष ०७८÷०७९ को पहिलो त्रैमासमा  १ खर्ब ४६ अर्ब बराबरको लगानी प्रस्ताव आएको उद्योग विभागले जानकारी दिएको छ । नेपालको उद्योग क्षेत्रमा स्वदेशीका साथै विदेशी लगानीकर्ताहरुले समेत लगानी गर्न चोसो दिदाँ ठूलो लगानी रकम प्रस्ताव आउने गरेको पाईन्छ । मुलुक भित्र र बाहिरका लगानीकर्ताहरुले नेपालमा पर्यटन, उर्जा, कृषिजन्य लगायतका उद्योगमा लगानी गरेको पाईन्छ ।

आर्थिक वर्ष ०७८÷७९ को असोज मसान्तसम्ममा १ खर्ब २२ अर्ब बराबरको लगानीमा स्वदेशी ८७ उद्योग दर्ता भएको विभागले जनाएको छ । जसमा २६ वटा ठूलो, ३४ वटा मझौला र २७ वटा साना उद्योग दर्ता भएको छ । त्यस्तै, सोही अवधिमा २४ अर्ब बराबरको १ सय ७ वटा विदेशी उद्योग दर्ता भएका छन् ।

तीन महिनाको अवधिमा उद्योग दर्ता भई लगानी प्रस्ताव गरेका स्वदेशी तथा विदेशी परियोजनाहरूमा १५ हजार ३ सय २९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने समेत लगानीकर्ताहरुले प्रतिवद्धता व्यक्त गर्नु भएको विभागले जनाएको छ । जसमा स्वदेशी उद्योगले ८ हजार १ सय ३४ जनालाई र विदेशी उद्योगले ७ हजार १ सय ९५ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको हो।

स्वदेशी लगानीकर्ताहरुले भने उद्योग स्थापना गरी निर्यात गरेको खण्डमा निर्यात नगद अनुदान समेत प्राप्त गर्नु हुनेछ । प्रथम त्रैमासमा निर्यात नगद अनुदानमा २० करोड खर्च भएको समेत विभागले जनाएको छ ।

त्यसैगरी, विभागका त्रैमासिकको प्रगति विवरणअनुसार ५ वटा डिजाइन र ९ सय १० वटा ट्रेडमार्क दर्ता भएको जनाएको छ । साथै, विभागले १४ वटा प्रारम्भिक वातावराणीय परीक्षण, ५४ ट्रेडमार्कलाई मुद्दा कारबाही गरेको तथ्याङ्कले देखाउँदछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update