काठमाडौं, कार्तिक ७ । आइतबारबाट देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सुरु हुँदैछ । आइतबार र सोमाबार गरी दुई दिने अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
भिटामिन ‘ए’ र जुकाको औषधि खान आइतबार छुटेका बालबालिकालाई सोमबार खुवाउन सकिने छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।