काठमाडौं, कार्तिक ८ । सोमबार देखि दसौँ एसियन भैँसी सम्मेलन सुरु हुँदैछ। भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो ।
भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । यसअघि सन् २०१८ मा भारतमा भएको नवौँ एसियन भैँसी सम्मेलनमा नै नेपालमा दसौँ सम्मेलन गर्ने घोषणा भएको सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिनु भयो। यो सँगै नेपालमा पहिलो पटक भैँसी सम्मेलन हुन लागेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएशन र इन्टरनेशनल बफेलो फेडेरेसनले कार्यक्रमको आयोजना गरेका हुन् कार्तिक १२ गतेसम्म भर्चुअल माध्यमबाट हुने भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १ सय ३५ भन्दा धेरै कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा तीन सय ५० भन्दा धेरै वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । नेपालमा दुग्ध उत्पादनमा भैँसीको झण्डै ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्क छ ।
सन् २०१७ मा नेपालमा भएको सम्मेलनपछि नै विश्वविद्यालय भैँसी अनुसन्धानमा दीर्घकालीन योजना निर्माणमा लागिपरेको छ । सम्मेलनकै कारण वैज्ञानिकबीचको सञ्जालमार्फत ज्ञान, सीप आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालमा झण्डै ५२ लाख भैँसीको सङ्ख्या रहेको तथ्याङ्क छ ।
स्थानीय जातमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैँसी पालन हुँदै आएका छन् । नेपालमा पछिल्लो समय आयात गरिएका हाइब्रिड जातका भैँसी पालन समेत बढ्दो क्रममा रहेको छ ।