काठमाडौं,कात्तिक ८ । बैकिङ क्षेत्रमा ६३ अर्बको निक्षेप थप हुँदा कर्जा भने २ खर्ब ७८ अर्बले बढेको छ । अर्थात निक्षेपको तुलनामा कर्जा भने २ खर्ब १५ अर्बले बढेको छ । यसरी कर्जामा भारि बृद्धि हुने तर निक्षेपमा आएको संकुचनका कारण बैकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव भएको छ ।
बैंकमा पैसा जम्मा गरेर राखेका ग्राहकले उक्त रकम निकालेर अन्य क्षेत्रमा लगानी गरेकाले करिब ८ वटा वाणिज्य बैंकको असार यता निक्षेप नै घटेको देखिएको छ ।
सेञ्चुरी, प्रभु,स्ट्याण्डर्ड चार्टड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई नेपाल बंगलादेश, कृषि बिकास र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप गत असारको तुलनामा घटेको देखिएको हो ।
८ वटा बैंकमध्ये सबैभन्दा बढि राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २४ अर्बले घटेको देखिएको हो । बैंकहरुबीच ब्याजदर बढाउने होडका कारण पनि एक बैंकबाट अर्काे बैंकमा निक्षेप पलायन भएको देखिन्छ । २७ वटा वाणिज्य बैंकमा असारयता ६३ अर्बले निक्षेप बढेको छ ।
सबैभन्दा बढि निक्षेप भने सनराइज बैंकको बढेकोे छ जसले असोज महिनामा मुद्दति निक्षेपमा सबैभन्दा बढि ब्याज अर्थात १० दशमलव शुन्य सात प्रतिशत दिने घोषणा गरेको थियो ।
कर्जा अर्थात लगानी भारि मात्रामा बृद्धि गर्ने बैंकहरुमा भने ग्लोबल, नेपाल, राष्ट्रिय बाणिज्य र सिद्धार्थ बैंक अग्रस्थानमा रहेका छन् । ग्लोबल बैंकले गत तीन महिनामा करिब २३ अर्ब बराबरको कर्जा लगानी गरेको छ, तरयहि बैंकको निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ।