Kath Khabar
चीनमा पुन: फैलियो कोरोना भाइरस, अन्यत्र क्षेत्रबाट आएको देखियो डेल्टा भेरियन्ट

काठमाडौं, कार्तिक ८।  चीनमा पुन : एक पटक कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् । अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिनु भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार अहिले चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

संक्रमणको मुख्य कारण अन्तरक्षेत्रीय पर्यटन रहेको आयोगले जनाएको छ । चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पटक देखिएको भाइरस र यसअघि चीनमा देखिएको भाइरसमा कमै मात्र समानता देखिएको छ ।

गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १०६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update