काठमाडौंं, कात्तिक ८। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सात सय ७६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १० हजार आठ सय ६४ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार तीन सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय एक जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार तीन सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप दुई सय २७ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा एक सय ८५, ललितपुर जिल्लामा ३३ र भक्तपुर जिल्लामा नौ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार तीन सय ९९ रहेको छ ।