काठमाडौं, कार्तिक ९ । सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा सेनाले गोली चलाएको छ । सेनाले गोली चलाँउदा कम्तीमा सातजनाको ज्यान गएको छ । सेनाले सत्ता हातमा लिए पछि भएको प्रदर्शनमा करिब एक सय ४० जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सत्ता कब्जाको विरोधमा प्रदर्शन गरेकाहरुको भीडमा सैनिकले गोली प्रहार गरेका हो । सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको हो । राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सेनाले सोमबार सुडानमा आपतकालीन अवस्था घोषित गरेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानीमा सैनिकहरु सर्वसाधारणका घरघरमा गएर विरोध प्रदर्शन आयोजना गर्नेहरुलाई पक्राउ गरिरहेका छन् । सेनाले गरेको सत्ता कब्जाको विश्वभरबाट विरोध भइरहेको छ । अमेरिकाले सात सय मिलियन डलर बराबरको सहयोग रोक्ने बताएको छ ।
राजनीतिक अस्थिरताका कारण आफूहरुले सत्ता कब्जा गर्नु परेको कू का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् । दुई वर्षपहिले शासक ओमर अल–बाशिर सत्ताबाट हटाइए यता सेना र सरकारबिच तनाव रहँदै आएको थियो । बाशिरले सुडानमा लामो समयदेखि शासन सञ्चालन गर्दे आएका थिए । राजधानी लगायतका क्षेत्रमा प्रदर्शन नियन्त्रण गर्नको लागि ठूलो मात्रामा सेना परिचालन गरिएको छ । सेनाले प्रदर्शनकारीमाथि ज्यादती गरे पनि प्रदर्शन भने रोकिएको छैन ।