Kath khabar
बढ्दो उपभोगले बढायो आयात, चुलियो व्यापार घाटा

काठमाडौं, कार्तिक ९ । आयात उच्च मात्रामा बढेपछि मुलुकको व्यापार घाटापनि ५८ प्रतिशतले बढेको देखिएको छ । गत वर्षको असोज मसान्तसम्म २ खर्ब ६१ अर्ब रहेको व्यापार घाटा यो वर्षको सोहि अवधिमा ५८ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब  पुगेको छ ।

भन्सार विभागका अनुसार आयात ६३ प्रतिशतले बढेको छ । गत वर्षको असोजसम्म २ खर्ब ९२ अर्बको आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात ४ खर्ब ७८ अर्ब पुगेको छ ।  हुनत निर्यात पनि १ सय ९  प्रतिशतले बढेको छ । तर, आयातको तुलनामा न्युन मात्रामा हुने निर्यातको बढोत्तरीले व्यापार  घाटा थेग्न सकेन ।

गत वर्ष असोजसम्म ३१ अर्बको निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा ६५ अर्बको निर्यात भएको छ । तर, यस्तो निर्यातमा बिदेशबाट कच्चा पदार्थ आयात गरि प्रशोधन गरि निर्यात गर्ने भटमास तथा पाल्म तेल ३७ अर्बको निर्यात भएको छ । अर्थात कुल निर्यात व्यापारमा आयात गरेर प्रशोधन गरि पठाइने तेलको हिस्सा ५६ प्रतिशत छ ।

दशै तथा तिहार लक्षित गरेर  सामानको आयात बढ्दा पनि आयातसँँगै व्यापार घाटा चुलिएको देखिएको हो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update