Kath khabar
बहुआयामिक मणी
मणी लामा


काठमाडौं, कार्तिक ९ । 'दाइ नमस्ते ! मलाई चिन्नु भयो ?' मलाई एक छिन ठम्याउन गाह्रो भयो । 'ल ! म मणी क्या मणी लामा । एपीएफ क्लबको ।' एकैछिन म झसँग भए ।

पोखराको बहुउद्धेश्य कबर्डहलमा गत असोज २ गतेबाट ए डिभिजन राष्ट्रिय फुटसल लिग भएको थियो। लिग फर्म्याटमा फुटसल भएको यो पहिलो पटक हो। अखिल नेपाल फुटबल संघले फुटसललाई पनि व्यवसायिक बनाउने र फुटसलको राष्ट्रिय टिमलाई पनि बलियो बनाउने उद्धेश्यले सञ्चालन भएको सो प्रतियोगिताले नयाँ आयाम थपिएको खेलाडी ।

त्यहाँ मैले चिन्ने भनेको बिजय गुरुङ । बिजय नेपालका डेभिड शिल्भा भनेर चिनिनु हुन्छ । उहाँका असिस्ट र गोल पक्कै पनि दर्शकको आखाँलाई आनन्द दिने खालको हुन्छ । नेपालले पाएको सबैभन्दा उत्कृष्ट विंगर, बिजय । राष्ट्रिय फुटबलको लेजेण्डको उपनाम पाउनु भएका उहाँले पोखेरेली टिम स्पोर्टस क्यासलबाट राष्ट्रिय लिगमा प्रतिनिधीत्व गर्नुभएको थियो । फाइनलमा उहाँकै टिमले शंखमुललाई हराउँदै उपाधी जितेको थियो । र शंखमुलबाटै खेल्ने एक खेलाडीले प्रतियोगिताको दोस्रो दिन दाइ भनेर बोलाउँदा अचम्म चाहिँ लागेको थियो । तर केही क्षण मै चिनीहाले ।

मणी लामा, बहुआयामिक मणी । उहाँलाई मैले अघिल्लो सिजन विराट गोल्डकपमा भेटेको थिए । पञ्जाव पुलिस विरुद्ध फाइनलमा एपीएफबाट निर्णायक गोल गर्ने खेलाडी मणी ।

उमेर समुहमा टेबल टेनीसमा अब्बल मणी
स्कुल पढ्ने बेलामा कुनै एक शिक्षकले मणीको हातमा टेबल टेनिस ब्याट र बल थमाइदिनु भएको थियो। १२ कक्षा सम्म टेबल टेनिसलाई निरन्तरता दिनुभयो। सायद त्यसैका कारण उहाँ राष्ट्रिय टिममा पनि पर्नुभयो । नेपालमा भएका सबै जुनियर राष्ट्रिय प्रतियोगितामा उहाँको सहभागिता रह्यो । त्यो पनि अब्बल खेलाडीका रुपमा । दक्षिण एसियाली टेबल टेनिस प्रतियोगितामा उहाँले नेपालका लागि रजत पदक समेत जित्नुभयो। युथ एसियाली टेबल टेनिस प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्नुभयो । सिनीयर स्तरमा उहाँले सातौ राष्ट्रिय खेलकुदमा विभागिय टिम त्रिभुवन आर्मी क्लबबाट खेल्नु भएको थियो । त्यो बेलाको प्रतियोगितामा पुरुष एकल तर्फमा शनशनी मच्चियो। मणीले आफ्नै प्रशिक्षकलाई हराएर सेमीफाइनलको यात्रा तय गर्नुभयो। पुरुषोत्तम गुरुलाई हराउँदै मणी रातारात नायक हुनुभयो । उहाँको त्यो कलाबाट प्रभावित एपीएफले आर्कषक तलब दिएर तानिहाल्यो ।  

अनि फुटसल र फुटबल
फुटसल र टेबल टेनिस एक समय समानान्तर रुपमै मणीले अघि लानुभयो । शनिबारको समय फुटसल र बाँकी समय टेबल टेनिस । फुटसल जुनियर प्रतियोगिताहरु मणी प्राय: छाइराख्नु भयो । आशिष लामाका उहाँ मिल्ने साथी । फुटसलसँगै खेल्नु हुन्थ्यो । आशिष अहिले पुर्ण रुपमा फुटबल खेलिराख्नु हुन्छ । राष्ट्रिय फुटबल टिममा नियमित स्थान बनाउन प्रयासरत हुनुहुन्छ । तर एपीएफका भरपर्दा स्ट्राइकर त आशिष मात्रै हुनुहुन्छ । अहिले मणी फुटबल र फुटसल दुवै अघि बढाउँदै हुनुहुन्छ । दुवैमा उहाँ अब्बल पनि हुनुहुन्छ । राष्ट्रिय फुटसल लिगका उहाँ उत्कृष्ट आला खेलाडी अर्थात् मिडफिल्डर हुनुभएको थियो । र विराट गोल्डकपमा पनि उत्कृष्ट मिडफिल्डर पुरस्कार जित्नु भएको छ । अब ए डिभिजन लिगमा पहिलो रोजाईमा खेलाउने प्रशिक्षकको रणनिती छ। प्राय: आफुले पाएको अवसरमा खह्रो उत्रिने उहाँको स्वाभाव नै हो । फुटबल लिगमा पनि आफुलाई प्रमाणित गर्ने उहाँको लक्ष्य छ   ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update