काठमाडौं, कार्तिक ११। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ९१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल ११ हजार तीन सय ५५ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ११ हजार तीन सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ९१ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय सङ्क्रमितको संख्या १० हजार दुई सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय ९९ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा एक सय ५७, ललितपुर जिल्लामा ३० र भक्तपुर जिल्लामा १२ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या दुई हजार तीन सय ८२ रहेको छ ।