Kath khabar
खेलकुद मन्त्री अथकद्धारा राष्ट्रिय युवा परिषदको अनुगमन


काठमाडौं, कात्तिक १२। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएकोछ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुङ्गानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरूले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरीक्षण गर्नुभयो ।

निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरूलाई निर्देशन दिदैँ मन्त्री अथकले युवा परिषदलाई युवाहरूको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरूको मनोविज्ञान बुझेर योजनाहरू तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, “भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दीर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।”

पछिल्लो समय ठुलो मात्रामा युवाहरू बिदेसिने गरेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न नयाँ ढंगले सोचनुपर्ने आवश्यक रहेको बताउनुभयो । “युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्” मन्त्री अथकले भन्नुभयो, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशील युवाहरूबाट उप्रेरीत हुने गरी अन्य युवाहरूलाई समेत स्वदेशमै रोक्नेखालको योजनाहरू अगाडि बढाउनुहोस ।”

साधन स्रोतका कारण कुनै पनि योजना सञ्चालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै मन्त्री अथकले सामान्य कर्मचारी भन्दा माथि उठेर देशभरका युवाहरूलाई सपना देखाउने ब्यक्तिका रुपमा आफूलाई उभ्याउन कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ ।

अहिलेकै अवस्थामा युवाहरू बिदेसिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरूको खडेरी पर्ने अवस्था आउने खतरा बढ्दै गएको भन्दै मन्त्री अथकले चिन्ता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा युवा तथा खेलकुदक मन्त्रालयका निमित्त सचिव कमल प्रसाद पोखरेल र सहसचिव विष्णुराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा ऊर्जावान् व्यक्ति पाएको भन्दै अहिलेसम्म विविध कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नीतिगत कुराहरूलाई अगाडि बढाउने प्रक्रिया सुरु भएको बताउनुभयो ।

कार्यक्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुङ्गानाले कार्यालयको प्रगति विवरण पेश गर्नुभएको थियो । पछिल्ला वर्षहरुमा परिषदलाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुङ्गानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।    


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update