सान फ्रान्सीस्को, कात्तिक १२। चर्चित सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था परिवर्तन भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाइएको बिहिबार घोषणा गर्नुभएको होे । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी ‘भर्चुअल रियलिटी’जस्ता क्षेत्रमा आफुलाई विस्तार गरिरहेकाले त्यही अनुसारको नयाँ नाम राख्नु परेको उहाँले बताउनुभयो ।
“नयाँ राखिएको नामले कम्पनीको कार्यक्षेत्र विस्तारमा सजिलो हुने विश्वास लिएका छौँ,” प्रमुख कार्यकारी अधिकृत जुकरवर्गले भन्नुभयो । अहिलेको नामले सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।
यसअघि कम्पनीको नाम पनि फेसवकु नै थियो। फेसवुक कम्पनीमार्फत् फेसवुकसँगै इन्स्टाग्राम, ह्वाट्स एप सञ्चालित थियो । कम्पनीले विहिवार नै अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।
फेसवुकका एकजना पूर्व कर्मचारीले कागजातहरू सार्वजनिक गरिदिएपछि फेसबुकबारे नकारात्मक धारणा बनिरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो । यसअघि सन् २०१५ मा यस्तै अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो ।
नयाँ नामका कारणले भविष्यमा यस कम्पनीका प्रयोगकर्ताहरूले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु पर्ने बाध्यता हट्ने उहाँको भनाइ रहेको छ ।
(रासस)