काठमाडौं, वैशाख १९ ।
कोभिड-१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको शुरुवात गरेको छ । यसअन्तर्गत कोभिड-१९ का कारण भएको मृत्यु दावीमा तीन कार्यदिन भित्रै दू्रतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । यस अन्तर्गत दावीकर्तालाई बीमा दावीकालागि आवश्यक कागजातहरु अनलाइन नै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले अधिक जानकारीकालागि सरल चरणबद्ध निर्देशनहरुको अनुशरण गर्न सक्नेछन् ।
दू्रतमार्गी दावीकासाथै, यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि तीन वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । १४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ । यस सुविधाकालागि ग्राहकले केवल ०१-५९७०१६६ मा डायल गरि कल सेन्टरमा सम्पर्क वा ईमेल गर्न सकिने कम्पनीले जनाएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्नुहुन्छ -“अधिकांश नेपालीहरुका लागि अहिले अत्यन्त कठिन तथा अनिश्चित समय हो । जनमानसलाई विश्वासिलो भविष्य निर्माणका लागि मद्दत गर्न हामीले आफ्नो जिम्मेवारीहरु गम्भिरताका साथ लिएका छौं र आशा राखेका छौं कि यस कोभिड केयर सहायता कार्यक्रमद्वारा हाम्रा ग्राहकहरुलाई कोभिड-१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न केही मात्रामा भएपनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुनेछ ।”