Kath khabar
ए डिभिजन लिग कार्तिक २९ देखि ,  उद्घाटन खेल सातदोबाटो र फ्रेन्ड्सबीच

काठमाडौं, कार्तिक १३ । शहीद स्मारक ए डिभिजन लिग आउँदो कार्तिक २९ देखि सुरु हुदै छ । लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्ने भएका छन् ।

ललितपुरमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा  शुक्रवार भएको तालिका सार्वजनिक कार्यक्रममा फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल हुने बताइएको हो । उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा कात्तिक २९ गते बेलुकी ५ बजे हुनेछ ।

पहिलो चरणका अन्य खेल दशरथ रङ्गशाला र एन्फा दुवै मैदानमा हुने छ । दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछन् भने दिउँसो ३ बजेको खेल दशरथ रङ्गशालामा हुने छ ।

लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलमा रहेको टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रङ्गशालामा हुन सक्ने एन्फाले जनाएको छ ।

एन्फाले अहिलेलाई सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिको तालिका सार्वजनिक भए पनि खेल स्थल भने तोकिएको छैन ।

फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टिम बी डिभिजनमा घटुवा हुनेछ ।  लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।

लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । यस्तै उदीयमान खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update