काठमाडौं, कार्तिक १३ । हरेक वर्ष लाखौं नेपाली युवाहरु विदेशमा काम गर्न जानुहुन्छ । जुन कुरा कति पनि नयाँ हुदैन तर नेपालमा विदेशी नागरिक पनि काम गर्न आउनु हुन्छ भन्ने विषय हाम्रो समाजको लागि नयाँ हुनसक्छ । तर, यो वास्तविकता हो नेपालमा पनि हजारौंको संख्यामा विदेशी नागरिकहरु काम गर्न आउनु हुन्छ । नेपालमा आउने विदेशी कामदारहरु भने अधिकांश दक्ष हुने गरेको पाईन्छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपले नेपालमा काम गर्नका लागि दक्ष विदेशी कामदारहरु मात्र आउन पाउने सरकारी व्यवस्थाअनुरुप चीन, बेलायत, अमेरिका, जर्मनी, जापान जुनसुकै मुलुकबाट विदेशी नागरिक काम गर्न यहाँ आए पनि दक्ष हुनु अनिवार्य रहेको बताउनु भयो ।
नेपालमा सय भन्दा बढी मुलुकका सात हजार भन्दा बढी कामदार रहेका छन् । आर्थिक वर्ष ०७४÷०७५ देखि ०७७÷०७८ को अवधिमा सात हजार २२ जना पुरुष र नौ सय ४८ जना महिला गरी कुल सात हजार नौ सय ७० जना विदेशी कामदार रहेको विभागले जानकारी दिएको छ । सो संख्या नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गरी नेपालमा रहनु भएका विदेशी कामदारहरु गरेर हो । पछिल्लो चार आर्थिक वर्षको अवधिमा कुल दुई हजार आठ सय चार जनाले श्रम स्वीकृति नविकरण तथा पाँच हजार ६६ जना विदेशीले नयाँ श्रम स्वीकृति लिनु भएको छ ।
नेपालमा रहनु भएका कामदारहरु मध्ये सबैभन्दा बढी चिनियाँ त्यसपछि क्रमशः बेलायती, अमेरिकन, भारतीय र दक्षिण कोरियाली नागरिकहरु हुनुहुन्छ । हाल सम्म एक हजार सात सय ८६ जनाले नविकरण र तीन हजार आठ सय ८९ जनाले नयाँ श्रम स्वीकृति लिदाँ कुल पाँच हजार छ सय ७५ जना चिनियाँ कामदारहरु नेपालमा कार्यरत रहनु भएको विभागको भनाई छ । सो मध्य पाँच हजार तीन सय ४३ जना पुरुष र तीन सय ३२ जना महिला चिनियाँ कामदार नेपालमा कार्यरत हुनुहुन्छ । चिनियाँ कामदारहरु विशेष गरी नेपालको विभिन्न ठूला आयोजनहरुमा संलग्न रही काम गरेका हामी पाउन सक्छौं । जस्तो माथिले तामकोशी निर्माण कार्य तथा यसअघि निर्माण सम्पन्न भएको चक्रपथ खण्डमा चिनियाँ कामदारहरुको संलग्नता रहेको थियो । चक्रपथ निर्माणको क्रममा भने अर्धदक्ष चिनियाँ कामदारहरु समेत कार्यरत हुनुुहुन्थ्यो ।
सीमा जोडिएका चीन र भारतमात्र नभई नेपालमा युरोप र अमेरिका नागरिकहरु समेत विभिन्न क्षेत्रमा संलग्न रहेका बताइएको छ । सोहि क्रममा दुई सय ४४ जना श्रम स्वीकृति नविकरण र एक सय ६४ जनाले नयाँ श्रम स्वीकृति लिई कुल चार सय आठ जना बेलायती कामदार नेपालमा हुनुहुन्छ । सो बेलायती कामदार मध्ये दुई सय ११ जना पुरुष र एक सय ९७ जना महिला हुनुहुन्छ । एक सय १५ जना श्रम स्वीकृति नविकरण गर्नुभएका र एक सय ३० जना नयाँ श्रम स्वीकृति लिनु भएको गरी कुल दुई सय ४५ जना अमेरिकी नागरिकहरु नेपालको विभिन्न क्षेत्रमा संलग्न रहनु भएको छ । जसमध्ये एक सय ४८ जना पुरुष र ९७ जना महिला हुनुहन्छ ।
नेपालमा कार्यरत विदेशी कामदारहरुमा एशिया र दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकहरुका नागरिक समेत हुनुहुन्छ । दक्षिण कोरियाका एक सय ६८ जना, जापानका एक सय १७ जना तथा सार्क मुलुकहरुमध्ये नयाँ तथा पुराना गरी भारतका एक सय ९० जना, श्रीलकांका ५९ जना, पकिस्तानका २८ जना नागरिकहरु नेपालमा काम गर्न आउनु भएको छ । दक्षिण कोरियालीहरु मध्ये ६१ जना श्रम स्वीकृति नविकरण तथा एक सय सात जना नयाँ श्रम स्वीकृति लिई कुल एक सय ६८ जना यहँँ कार्यरत हुनुहुन्छ । जसमध्ये एक सय ४८ जना पुरुष र २० जना महिला हुनुहुन्छ । जापानिजहरु मध्ये ४४ जना श्रम स्वीकृति नविकरण तथा ७३ जनाले नयाँ श्रम स्वीकृति लिई कुल एक सय १७ जना यहाँ हुनुहुन्छ । जसमध्ये ८३ जना पुरुष र ३४ जना महिला हुनुहुन्छ ।
यस्तै ८३ जना श्रम स्वीकृति नविरण तथा एक सय सात जनाले नयाँ श्रम स्वीकृति लिई कुल एक सय ९० जना भारतीय कामदार नेपालमा कार्यरत हुनुहुन्छ । सो मध्ये एक सय ७६ जना पुरुष र १४ जना महिला कामदार हुनुहुन्छ । १४ जना श्रम स्वीकृति नविकरण गरेर पाकिस्तान युवाहरु नेपालमा कार्यरत रहनु भएको छ ।
यी सीमित मुलुकबाट धेरै संख्यामा विदेशी कामदार नेपाल आउने गर्नुभएको छ भने यसका अलबा थाईल्याण्ड, फिलिपन्स, मलेसिया, म्यानमार, स्वीटरजरल्याण्ड, नर्वे,न्यूजील्याण्ड तथा द्धन्द्धग्रस्त मुलुक सिरिया, प्लेस्टाइन, यमन र अफ्रिकी मुलकु नाइजेरिया, घाना लगायतका मुलुकबाट समेत हाम्रो मुलुकमा कामका लागि विदेशी नागरिकहरु आउने गर्नुभएको छ । ती मुलुकहरुबाट भने न्यून संख्याका नागरिक यहाँ कार्यरत रहनु भएको विभागको भनाई छ ।
विदेशी नागरिकलाई नेपालमा काम गर्न आउँदा श्रम स्वीकृति अनिवार्य गरिएको छ भने श्रम स्वीकृतिकै आधारमा उनीहरुलाई भिसा समेत दिने गरेको पाइन्छ । सामान्यतया एक पटक नेपाल प्रवेश गरेपछि उनीहरु सात वर्षको अवधिसम्म नेपालमा काम गरेर बस्न पाउने व्यवस्थ रहेको छ । विभागका अनुसार पटक–पटक गरी पाँच वर्षको अवधिसम्म श्रम स्वीकृति प्राप्त गरे पनि थप दुई वर्षको लागि भने उनीहरुले कूटनीतिक पहल गर्नुपर्ने हुन्छ ।
नेपालमा चिकित्सक, इन्जिनियर, शिक्षक, प्राविधिक लगायतका दक्ष विदेशी कामदार यहाँ आउने गरेको पाईन्छ ।