Kath khabar
अफगानिस्थानबाट थप ३२ जना नेपाली स्वदेश फिर्ता


काठमाडौं, कात्तिक १३। अफगानिस्तानबाट उद्धार भई आज थप ३२ जना नेपाली नागरिक स्वदेश फर्कनु भएको छ । यससँगै हालसम्म कूल नौ सय ४० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको हो ।

आज स्वदेश फर्कनु भएका नेपाली नागरिकहरू अनौपचारिकरुपले वैदेशिक रोजगारीको लागि स्वीकृति नलिई अफगानिस्तान गई काबुलस्थित बिभिन्न स्थानहरूमा स–सानो समूहमा छरिएर रहनु भएको थियो । उहाँहरूलाई एउटै समुहमा आवद्ध गरी बस्ने खाने सुविधा सहित सुरक्षितरुपमा राख्ने प्रबन्ध मन्त्रालयको अनुरोधमा आईडिजी कम्पनी मार्फत गरिएको थियो । अब अफगानिस्तानमा त्यहांस्थित संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरुमा अति आवश्यक कार्यहरुमा संलग्न केही नेपालीहरु मात्र रहनु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले अति आवश्यक मानवीय तथा विकास सम्बन्धी कार्य जारी रहने व्यहोरा जनाउदै संयुक्त राष्ट्रसङ्घमा कार्यरत नेपालीहरूको सुरक्षामा कुनै जोखिम भएमा सबैलाई सुरक्षितरुपमा नेपाल फिर्तीको प्रबन्ध मिलाइने जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा नेपाली नागरिकहरू अफगानिस्तानमा रहेको हुँदा त्यहाँ विकसित घटनाक्रमलाई प्रारम्भ देखिनै परराष्ट्र मन्त्रालयले अनुगमन गरिरहेको र सम्भावित सुरक्षा जोखिमको आँकलन गरी स्वदेश फिर्ता गर्ने कार्यका लागि कूटनीतिक पहल थालनी गरिएको थियो। त्यस सिलसिलामा मन्त्रालयले काबुल तथा काठमाण्डौस्थित मित्र राष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानका राजदूतावासहरू, काबुलस्थित नेटो सैन्य अधिकारीहरू, संयुक्त राष्ट्र संघीय नियोग तथा कार्यालयहरू, अन्य अन्तर्राष्ट्रिय संघ संस्थाका कार्यालय तथा रोजगारदाता एवं जनशक्ति आपूर्ति गर्ने कम्पनीहरु आदिका स्थानीय कार्यालय एवं उनीहरूका मुख्यालयहरू मार्फत कूटनीतिक पहल र नेपाली नागरिकको सुरक्षित उद्धार एवं स्वदेश फिर्ताको कार्यमा सबै तह र चरणमा समन्वय, सहजीकरण र सहयोग गरिएको थियो ।

यस कार्यमा मित्र राष्ट्रहरू र माथि उल्लेखित सबै संघ संस्था एवं निकायहरूको हार्दिकतापूर्वक सहयोग मन्त्रालयलाई प्राप्त भएको छ । यस कार्यमा समन्वयका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदल र परराष्ट्र मन्त्रालयमा रहेको नियन्त्रण कक्षबाट प्रभावकारी समन्वय एवं सहजीकरण भएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा एक टोली गठन गरी उद्धार तथा स्वदेश फिर्ती कार्यको सहजीकरण र समन्वय गरिएको थियो । उद्धार र स्वदेश फिर्तिका क्रममा कतार, कुवेत, यु.ए.इ., पाकिस्तान, लण्डन, वाशिङटन डि.सी. र न्यूयोर्क स्थित नेपाली नियोगहरु पनि परिचालन गरिएका थिए ।

उद्धार र स्वदेश फिर्तिका लागि सहयोग पुर्याउनु हुने सबै स्वदेशी निकाय, रोजगारदाता, मित्रराष्ट्रहरु तथा संयुक्त राष्ट्र संघीय निकायहरुप्रति मन्त्रालय हार्दिक आभार प्रकट गरेको छ  ।  

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update