काठमाडौं, कार्तिक १५ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबिच पहिलो पटक औपचारिक भेट भएको छ । थप ३ वर्षका लागि नेपाली टिमको प्रशिक्षकका रुपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आईतबार विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरीएको उक्त कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभयो । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अल्मुताईरीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कायम राख्दै काम गर्न आग्रह गर्नुभयो । मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेषगरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउँदै गोर्खाली स्प्रिडलाई कायम राख्दै अगाडि बढ्न आग्रह गर्नुभएको हो ।
“तपाईले नेपाली फुटबलमा मात्र नभई सिङ्गो खेल क्षेत्रलाई तरङ्गीत बनाउनुभएको छ”, मन्त्री अथकले भन्नुभयो, “नेपाली फुटबल खेलाडीलाई गोर्खाली शैलीमा खेल्न प्रोत्साहित गरेर फुटबल विकासमा नयाँ आश जगाउनुभएको छ । सरकार तपाईको साथमा छ, ढुक्क भएर काम गर्नुहोस ।” विगतमा केही समस्या देखियता पनि त्यसलाई चिर्दै अल्मुताईरीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको भन्दै मन्त्री अथकले खुसी व्यक्त गर्नुभयो ।
स्वागत पछि प्रतिक्रिया दिदैँ अल्मुतारीले नेपाल र नेपालीहरूको मायाले आफु पुन नेपाल फर्किएको बताउनुभयो । आजको दिन आफ्नो जीवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुताईरीले नेपालले आफूलाई धेरै माया दिएको बताउनुभयो । नेपालको खेलका दौरान तथा आफु माल्दिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफूलाई निरन्तर टेलिफोन गरेर हौसला प्रदान गरेको र नेपाल आएलगत्तै मन्त्रालयमा बोलाएर स्वागत गरेकोमा अल्मुताईरीले मन्त्री अथक र मन्त्रालय प्रति आभार ब्यक्त गर्नुभयो ।
माल्दिभ्स बसाइको क्रममा बिभिन्न देशले ठुलो रकममा आफूलाई प्रशिक्षकका लागि प्रस्ताव गरेपनि नेपालीहरूको माया सम्झिएर आफू पुन नेपाल फर्किएको बताउँदै अल्मुताईरीले भने, “माया भन्दा ठुलो कुरा पैसा होईन ।” मन्त्रालयका कर्मचारी र एन्फाका पदाधिकारीहरूको समेत उपस्थितिमा भएको स्वागत कार्यक्रममा मन्त्री अथक र अल्मुताईरीबिच फुटबलको विकासका सन्दर्भमा करिब ४५ मिनेट लामो छलफल भएको थियो । शनिबार नेपाल फर्किएका अल्मुताईरीको थप तीन वर्ष नेपालका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ ।