Kath khabar
‘सिडिओ’ले दिएको पत्र राखी ढुवानीका सवारी साधन निर्वाध चलाउन पाइने 

काठमाडौं, वैशाख १९ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञामा दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति प्रणाली सहज बनाउने भएको छ । यसका लागि ढुवानीकर्ताले प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आवद्ध भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको १/१ प्रति  ढुवानीकर्ता अर्थात् चालक र कामदार कर्मचारीले समेत राख्नु पर्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले निषेधाज्ञामा दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति प्रणाली सहज बनाउनको लागि प्रयोग गरिने सवारी साधनको बारेमा प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आवद्ध भएको संस्थाको प्रमुखलाई जानकारी गराई ढुवानी सेवा सहज बनाउन सम्वन्धित पक्षलाई आग्रह गरेको छ । यो सँगै अत्यावश्यक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति प्रणाली सहज हुने मन्त्रालयले जनाएको छ । निषेधाज्ञामा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधानहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिए पछि ढुवानीमा समस्या देखिएको थियो । 

दैनिक अत्यावश्यक उपभोग्य खाध्य वस्तुहरुको आयात, ढुवानी, संचय र वितरण गर्ने कम्पनी, उद्योग तथा संस्थाहरुले आयात, ढुवानी, संचय र वितरण गर्नका लागि प्रयोग हुने सवारी साधनको किसिम सहित संलग्न कामदार कर्मचारीहरुको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफनो औपचारिक पत्रबाट प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आवद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराई सहज ढुवानी गर्न आग्रह गरेको छ । यस्तै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आवद्ध भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक/एक प्रति  ढुवानीकर्ता अर्थात् चालक र कामदार कर्मचारीले समेत राख्नको लागि आग्रह गरेको छ । 

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आवद्ध भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक/एक प्रति चालक र कामदार कर्मचारीले आफनो परिचयपत्र सहित साथमा राख्नुको साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारी साधनमा सबैले देख्ने गरी अगाडी भागमा ब्यानर राख्न आग्रह गरेको छ । यसैबीच दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको ढुवानी सेवाका लागि उपयोग गरिएको सवारी साधनमा चालक र कामदार कर्मचारी बाहेक अन्य व्यक्ति भने राख्न पाइने छैन । 

मुलुकभर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट निषेधाज्ञा आदेश जारी भएकोले सर्वसाधारणलाई दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, संचय र वितरण गर्ने कार्यलाई नियमित बनाउन नेपाल सरकारका सम्वद्ध निकायहरु तथा निजी क्षेत्रमा संगठित छाता संगठनका प्रमुख तथा प्रतिनिधहरुको संयुक्त छलफल मार्फत् मन्त्रालयले उक्त निर्णय गरेको हो । निषेधज्ञामा अत्यावश्यक सामग्री ढुवानी गर्नेलाई प्रहरीले माथिको आदेश भन्दै निर्णयमा लिए पछि  ढुवानीकर्ताहरुलाई समस्या भएको थियो । वल्खु, कालिमाटी लगायतका क्षेत्रमा पछिल्ला दिनमा ढुवानीका सवारी साधन नियन्त्रणमा लिइएको थियो । 


 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update