काठमाडौं, कात्तिक १६। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा चार सय ६९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १० हजार दुई सय ८७ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार चार सय २७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ५५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या नौ हजार एक सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय ४० जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा ९९, ललितपुर जिल्लामा ३६ र भक्तपुर जिल्लामा पाँच जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार १४ पुगेको छ ।