Kath Khabar
नेपालमा थप ४४७ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, कार्तिक १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा चार सय ४७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल नौ हजार नौ सय १३ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ११ हजार चार सय ३४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार सय ३९ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या नौ हजार एक सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय ७५ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा एक सय ३१, ललितपुर जिल्लामा २७ र भक्तपुर जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार नौ सय ९६ रहेको छ ।


 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update