ग्लास्गो, कार्तिक १८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी र चिनियाँ राष्ट्रपतिको आलोचना गर्नु भएको छ । २६ औं जलावायु सम्मेलन (कोप २६) मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङ सहभागी नभएको भन्दै बाइडेनले उहाँहरूको आलोचना गर्नु भएको हो ।
मंगलबार राति कोप २६ समारोहमा बोल्दै बाइडेनले जलवायु एउटा महत्वपूर्ण मुद्दा भएको तर संसारका शक्ति राष्ट्र चीन र रुस त्यस मुद्दाबाट टाढिएको बताउनु भयो । यति महत्वपूर्ण सम्मेलनमा चीन र रुसको नेतृत्व पंक्ति टाढुन दुखद खबर भएको समेत उहाँले बताउनु भयो ।
स्कटल्याण्डको ग्लास्गोमा अक्टोबर ३१ देखि नोभेम्बर १४ सम्म जारी कोप २६ सम्मेलनमा चीन र रुसका राष्ट्रपति अनुपस्थित हुनुहुन्छ। यद्यपि, दुवै नेताले वार्ताका लागि आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाउनु भएको छ।
बाइडेनले जलवायु जस्तो महत्वपुर्ण सम्मेलनमा चीन र रुस आफ्नो नेतृत्व दिन असफल भएको आरोप समेत लगाउनु भएको छ। ‘जलवायु परिवर्तनलाई सम्बोधन गर्न चीन र रुस दुवै मुलुक असफल भएका छन्’, बाइडेनले भन्नु भयो, ‘यो सम्मेलनमा दुवै देशका शीर्ष नेता उपस्थित हुन नसक्नु सबैभन्दा ठूलो गल्ती हो। बाहिर आफूहरुलाई विश्वकै नेता भनेर चिनाउन खोज्ने दुवै देशका राष्ट्रपति जलवायु जस्ता महत्वपूर्ण मुद्दाबाट भने टाढिएका छन्।’एजेन्सी