कोरियामा एक नेपालीले भेटेको रु १३ लाख प्रहरीलाई बुझाए
दक्षिण कोरिया, वैशाख २० । दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गर्नु भएको छ । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका -७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाउनु भएको थियो । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो । रकममध्ये रु १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए ।
उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाउनु भएको हो । सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ-९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ-२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरी रहनु भएको छ । उहाँ इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्नु हुन्छ ।
रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया उहाँले दिनुभयो । अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उहाँले बताउनुभयो । कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ । (रासस)
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८ ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय