काठमाडौं, कात्तिक २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल दुई हजार तीन सय ३३ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार चार सय ४८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ६३ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार सात सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय १९ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौ जिल्लामा ८०, ललितपुर जिल्लामा ३६ र भक्तपुर जिल्लामा तीन जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय ६५ रहेको छ ।