काठमाडौं, वैशाख २० । एन आई सी एशिया बैंकका ग्राहकहरूले अनलाईन किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ता पाउने भएकाछन् । बैंकले सस्तो डिल, ग्यापुु, रिर्चाजर, ईन्फी स्टोर र खानपिन बाट अनलाईन किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ताको योजना ल्याएको हो । नयाँ भेरियन्टको कोभिड-१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरूले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिरहेका बेला हामी सबैले आ-आफ्नो स्तरबाट उचित सावधानी अपनाई महामारी रोकथामका लागि सहयोग गर्नुपर्ने आजको टड्कारो आवश्यकता छ ।
यस अवस्थामा विभिन्न अनलाईन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँ सम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको हो, बैकले भनेको छ ।
बैंकले सस्तो डिल, ग्यापुु, रिर्चाजर, ईन्फी स्टोर र खानपीन फुड्स एण्ड टुुर्स बाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई-कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।
यसका लागि ग्राहकहरूले बैंकको कार्डमार्फत ई-कमर्श तथा पोसबाट भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नुहुनेछ । साथै, आफ्नो कार्डमा ई-कमर्श भुक्तानी सुविधा नलिनुभएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।