Kath khabar
मोटरसाइकल एसेम्बल कम्पनी स्थापना गर्न सरकारले राख्यो ३ वटा  शर्त

काठमाडौं, कार्तिक २३ । नेपालमा मोटरसाइकल एसेम्बल कम्पनी राख्नेहरुका लागि सरकारले तीन वटा शर्तहरु अघि सारेको छ । सरकारले अघि सारेको शर्तहरुमा  नेपालमा मोटरसाइकल कम्पनी एसेम्बल गर्दा १० देखि ३० प्रतिशत अतिरिक्त आन्तरिक मूल्य थप गर्नुपर्ने हुन्छ ।

सरकारले मोटरसाइकल एसेम्बल उद्योग स्थापना गर्दा अतिरिक्त आन्तरिक मूल्य पहिलो वर्षमा (स्थापना वर्ष) मा १० प्रतिशत र पाँच वर्षको अन्त्यमा ३० प्रतिशत थप हुनुपर्नेछ ,  एसेम्बल उद्योगमा पहिलो वर्षमा कम्तीमा ५० जना स्वदेशी कामदार राखिनुपर्ने तथा पाँच वर्षमा करिब दुई सय जना स्वदेशीलाई रोजगार दिनुपर्ने  व्यवस्था गरेको उद्योग विभागले जानकारी दिएको छ । यस्तै
मोटरसाइकल एसेम्बल उद्योगले पाँच वर्षभित्र १० प्रतिशत स्वदेशमा उत्पादित सामग्री प्रयोग गर्नुपर्ने र सरकारले तोकेको आधिकारिक निकाय (वातावरण विभाग, यातायात विभाग र उद्योग विभाग) मार्फत तोकेको मापदण्डअनुरुप वातावरणमैत्री तथा सुरक्षित हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको विभागले जनाएको छ । यस्ता  नियमले भोलिका दिनमा स्वदेशमा मोटरसाइकल उत्पादन भएको खण्डमा वातावरणमा कुनै पनि किसिमको क्षति नहुनुको साथै उपभोक्ता समेत सुरक्षित हुनेछन् ।

एसेम्बल उद्योगहरुले अतिरिक्त आन्तरिक मूल्य थप, रोजगारीका साथै स्वदेशका कच्चा पदार्थ तथा उत्पादित सामग्री समेत प्रयोग गर्नुपर्ने हुन्छ । यसो गर्दा एउटा उद्योगको उत्पादन अर्को उद्योगले प्रयोग गर्दा मुुलुकको उद्योगधन्दा फस्टाउने हुनाले सरकारले पछिल्लो समय सो बाध्यकारी नियम मोटरसाइकल एसेम्बल उद्योगहरुमार्फत बजारमा प्रस्तुत गरेको हो ।

नेपालमा बजाज र टीभीएस कम्पनीका मोटरसाइकल एसेम्बल हुँदै आएका छन् । यस्तै यामाहा, सुजुकी, होन्डाजस्ता कम्पनीहरु पनि नेपालमा मोटरसाइकल एसेम्बल गर्ने तयारीमा निजी क्षेत्र रहेको छ । निजी क्षेत्रले चार पाङग्रे सवारी साधन कार, जीप, भ्यान आदि एसेम्बल उद्योगमा समेत चासो दिएको पाइन्छ ।
मुलुकका उद्योगहरुले आयातीत सवारी साधन भन्दा स्वदेश मै एसेम्बल प्लान्ट स्थापना गरी सवारी साधन उत्पादनमा जोड दिन चाहनु भएको छ । स्वदेशमा एसेम्बल कम्पनी स्थापना गर्दा आयातित सवारी साधनको तुलनामा सस्तो पर्ने हुदाँ बजार बढ्ने अपेक्षा व्यवसायीहरुको रहेको पाईन्छ ।


 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update