काठमाडौं, कार्तिक २४ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आर्थिक वर्ष २०७८७९ को प्रथम तीन महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.१ प्रतिशतले वृद्धि भई पाँच खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १२.० प्रतिशत र ८८.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब पाँच करोड तथा कुल पैठारीमा ६३.७ प्रतिशतले वृद्धि भई चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को प्रथम तीन महिनामा अवधिमा निकासी- पैठारी व्यापारको अनुपात १ः९.४ रहेकोमा आ.व. २०७८/७९ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः७.४ रहन आएको छ ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, सूर्यमुखी तेल, तयारी पोशाक, ऊनी फेल्टका उत्पादन, जुस, अलैंची, चिया, कपडा, पश्मिना सल, चाऊचाऊ, फलाम तथा फलामका उत्पादनहरु प्रमुख रुपमा रहेका छन् ।
समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा १८९.५ प्रतिशतले वृद्धि भई २२ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । यसै गरी समीक्षा अवधिमा पामतेलको निर्यातमा भारी वृद्धि भई १३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा यार्नको निर्यातमा ५१.७ प्रतिशतले वृद्धि भई दुई अर्ब छ करोड रुपैयाँ अर्ब पुगेको छ । यसै गरी परम्परागत नेपाली निर्यातजन्य वस्तु ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा २०.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । त्यसै गरी जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा ३४.९ प्रतिशतले वृद्धि भई दुई अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
पछिल्ला केही महिनाहरुमा सूर्यमुखी तेल पनि नेपालको प्रमुख निकासीयोग्य वस्तुको पहिचान स्थापित गर्दै समीक्षा अवधिमा यस वस्तुको तेलको निर्यात एक अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यसै गरी नेपालको अर्काे परम्परागत निर्यातजन्य वस्तु तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा २६.२ प्रतिशतले वृद्धि भई दुई अर्ब २० करोड रुपैयाँ पुगेको छ । यसै गरी अर्को प्रमुख निर्यातजन्य वस्तु फेल्टको निकासीमा समीक्षा अवधिमा ३०.२ प्रतिशतले वृद्धि भई एक अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा जुसको निकासीमा ५१.८ प्रतिशतले वृद्धि भई एक अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा १२.८ प्रतिशतले ह्रास आई एक अर्ब २८ करोड रुपैयाँमा सीमित हुन पुगेको छ । यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा ५३.५ प्रतिशतले ह्रास आई एक अर्ब एक करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।
चालु आर्थिक वर्षको प्रथम तीन महिनामा प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सुर्यमुखीतेल) को निर्यात नेपालको कुल निर्यातमा ५७.४ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखा परेको छ । यस अवधिमा यी वस्तुहरुको कुल निर्यात ३७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यात मध्ये भटमासको तेल, पामतेल तथा सूर्यमुखीतेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः ३३.९ , २०.८ र २.८ प्रतिशत रहेको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा १४७.१ प्रतिशतले वृद्धि भई ५२ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६८.७२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षका सो हिस्सा बढेर ८१.० प्रतिशत पुगेको छ । नेपालको निर्यातमा ५७.४ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरुको निर्यात भारतमा नै भई रहेकोले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, फ्रान्स, जापान, अष्ट्रेलिया,इटाली, क्यानडा, चीन, नेदरलेण्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् ।
पैठारीतर्फ समग्रमा आ.व. २०७८/७९ को प्रथम तीन महीनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा १३२.७ प्रतिशतले वृद्धि भई ५३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यसै गरी समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ६९.९ प्रतिशतले वृद्धि भई ४७ अर्ब ७६ करोड रुपैयाँ मशिनरी तथा पार्ट्समा ५३.९ प्रतिशतले वृद्धि भई ३५ अर्ब १० करोड रुपैयाँ यातायातका साधन र तिनका पार्टपुर्जामा ७३.४ प्रतिशतले वृद्धि भई ३४ अर्ब ३८ करोड रुपैयाँ इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २०.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड, अन्नको आयातमा १०.३ प्रतिशतले ह्रास आई १७ अर्ब ७१ करोड रुपैयाँमा सीमित रहेको छ । तयारी पोशाकको आयातमा ४३.७ प्रतिशतले वृद्धि भई १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यसै गरी समीक्षा अवधिमा औषधीको आयातमा ६८.१ प्रतिशतले वृद्धि भइ ११ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कच्चा भटमास तेलको आयातमा १५३.२ प्रतिशतले भई २० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । दुरसञ्चारका सामाग्रीको आयातमा ५५.४ प्रतिशतले वृद्धि भई २० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इण्डोनेशिया, अर्जेण्टिना, युएई, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, स्वीट्जरलेण्ड, मलेशिया, बंगलादेश, युक्रेन, टर्की, ब्राजील र क्यानडा रहेका छन् ।
समीक्षा अवधिमा भौतिक संरचना निर्माणका सामाग्रीहरु जस्तै फलाम, स्टील तथा तिनका सामानहरु, आल्मुनियम, तामा जस्ता वस्तुहरुको आयातमा भएको वृद्धिले मुलुकको विकासमा सकारात्मक योगदान दिएको देखिन्छ । यसै गरी मुलुकका लागि अति आवश्यक औद्योगिक कच्चापदार्थहरु जस्तै कच्चा पाम आयल, कच्चा भटमासको तेल, कच्चा सूर्यमुखीतेल, पोलिथिन ग्य्रानुअल, रबर, रसायन जस्ता वस्तुहरुको आयात उल्लेख्य रुपमा भएको छ ।
समीक्षा अवधिमा औद्योगिक क्रियाकलाप अभिवृद्धिमा मूख्य भूमिका खेल्ने क्यापिटल गुड्स (मशिनरी तथा पार्ट्स) को आयातमा वृद्धि हुँदा यस्तो आयातले दीर्घकालमा सकारात्मक प्रभाव पार्नें देखिन्छ । यसै गरी समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातमा वृद्धि भए तापनि पेट्रोलियम पदार्थको अधिकाँश आयात औद्योगिक उत्पादन, मालवस्तु ढुवानी तथा सार्वजनिक यातायातमा खपत भई रहेको सन्दर्भमा यी वस्तुहरुको आयातले पनि मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण योगदान दिएको पाइन्छ । चालु आर्थिक वर्ष २०७८/७९ को समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्य रुपमा सुधार भए तापनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापारघाटामा ५८.३ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।