आदेन, कार्तिक २४। यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उहाँको हत्या गरिएको छ भने उहाँका नवजात शिशुको पनि ज्यान गएको छ । आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् ।
उहाँका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम विस्फोट गराइएको थियो । त्यस क्रममा भएको विस्फोटमा परी ती महिला पत्रकार र उहाँका शिशुको ज्यान गएको छ भने उहाँका श्रीमान् घाइते भएका छन् । उहाँहरुको यात्राका क्रममा गुडिरहेको कारमा नै बम विस्फोट गराइएको थियो । उहाँका श्रीमान् पनि पत्रकार हुनुहुन्छ।
बम विस्फोटबाट महिला पत्रकार रासा अब्दुल्लाह र उहाँका नजजात शिशुको ज्यान गएको छ भने उहाँका श्रीमान् सख्त घाइते हुनुभएको छ । घाइते श्रीमानको अवस्था पनि गम्भीर रहेको ती सुरक्षा अधिकारीले जनाएका छन् । उहाँ एक स्थानीय टेलिभिजनका पत्रकार हुनुहुन्छ। यहाँको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रुपमा गरिएको अनुुसन्धानबाट उहाँहरुको रोकी राखेको कारमा बम राखेको र पछि कार गुडेपछि रिमोर्ट कन्ट्रोलको सहायताले विस्फोट गराएको अनुमान गरिएको छ ।
यस विस्फोटको जिम्मा अहिलेसम्म कुनै व्यक्ति या समूहले लिएको छैन । प्रहरीले हत्याराहरुको खोजी गरिरहेको बताएको छ । प्रहरीले यसमा आतंककारी समूहको हात रहेको अनुमान गरेको छ ।
(रासस)