पोखरा, कार्तिक २५ । हिमश्रृंखला देखिने पोखराको सडक अहिले समाजिक सञ्जालमा भाइरल भएको छ । सडक राम्रो देखिए सँगै सडकलाई लिएर चर्चा हुन थालेको छ । भाइरल भएको सो सडक
निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हो । मध्यपहाडी लोकमार्गको कास्की खण्डमा पर्ने याम्दीदेखि फेदी घट्टेखोलासम्म ६ लेनमा बनेको १२ किलोमिटर सडक पूर्ण रुपमा तयार भएको छ ।
२६ जिल्लाको दुई सय १५ वटा बस्ती जोड्ने लक्ष्य लिएको राजमार्गमार्फत् एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने उद्देश्य राखिएको छ । यो राजमार्ग पाँचथर को चियोभञ्ज्याङ भन्ने ठाउँबाट सुरु भै बैतडी का झुलाघाट सम्म रहेको छ ।यो राजमार्ग को पूर्व पश्चिम लम्बाई १ हजार ७ सय ८६ किलोमिटर रहेको छ । सोहि क्रममा कास्की जिल्लाको विभिन्न गाँउ, बस्तीलाई लोकमार्गले छोएको हो ।
आयोजना समय मै सम्पन्न नहुने समस्याका कारण लोकमार्ग निर्माणको अवधि थप गर्दै ०८० मा सम्पन्न गर्ने लक्ष्य छ । तर, अहिलेसम्मको प्रगति विवरण हेर्दा तोकिएको समयमा आयोजना सम्पन्न हुने देखिँदैन । आयोजना निर्माण थालिएको १२ वर्ष पूरा भइसकेको छ र अहिलेसम्म करिब ६० प्रतिशत मात्र प्रगति भएको छ । सडक विभागले बढीमा तोकिएको समयावधिभन्दा एक वर्ष थप हुन बताँउदै आएको छ ।
सामाजिक सञ्जालमा भाइरल भए सँगै सडक कहिल, कसले निर्माण गरेको भन्ने विषयले समेच चर्चा पाएको छ । आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६ को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।
तस्बिर :सौजन्य सुजन आचार्य