काठमाडौं, कात्तिक २६ । नेपाल राष्ट्र बैंकले सन् २००९ यता देखि १ र २ रुपैयाँको सिक्का छापेको छैन । साना दरका यस्ता सिक्का लामो समय नछापी बस्दा राष्ट्र बैंकले माग बमोजिम सिक्का उपलब्ध गराउन सकेको छैन ।
हिन्दु धर्ममा तुलादान गर्ने प्रचलन छ । तुलादानका क्रममा आफ्नो तौल बराबरको सिक्का दान गर्ने प्रचलन छ । तर राष्ट्र बैंकले तुलादानका लागि सिक्का उपलब्ध गराउन छाडेको डेढ वर्षभन्दा बढि भइसकेको छ । यता सामान्य कारोबार गर्ने व्यवसायीले अहिले २ सय ५० रुपैयाँ सटही गर्नका लागि कार्यालय खुलेको १ घन्टा भित्रै पुग्नुपर्ने बाध्यता छ। १२ बजे पुग्दा त सिक्का नै नपाइने स्थिति देखिन्छ ।
माग अनुसारको सिक्का उपलब्ध गराउन नसकेपछि बजारमा अहिले सिक्काको साटो १ र २ रुपैयाँको लागि चकलेट प्रयोग हुने गरेको छ । राष्ट्र बैंकले अहिले कुल १५ हजार भन्दा बढिको सिक्का सटही गर्न सक्ने स्थिति छैन । अहिले टक्सारमा सिक्का साट्न आउनेहरू कोही रित्तै फर्किन्छन् । सिक्काको उपलब्धता नभएपछि बजारमा १ र २ रुपैयाँको कारोबार नै हुन छाडेको छ ।
राष्ट्र बैकबाट बाहिर निस्किएका नोटहरू ३ देखि ४ पटक फेरी राष्ट्र बैंकमै फर्कन्छन् । तर सिक्का भने बाहिर निस्किएपछि राष्ट्र बैंक फर्कदैनन् । जसका कारण पनि सिक्काको सर्कुलेसनमा समस्या आएको छ । भारतबाट आएका तीर्थालुहरूले पनि नेपालको सिक्का धार्मिक हिसाबले लाभ हुने भन्दै उता लाने गरेका छन् । त्यो त्यति धेरै ठूलो परिमाणमा होला न होला तर देशका मठमन्दिरमा ठूलो मात्रामा सिक्का थुप्रने गरेको छ ।
एक रुपैयाँको सिक्का छाप्न राष्ट्र बैंकले २ रुपैयाँ ४० पैसा खर्च गर्छ । तर यि सिक्का बजारमा आएपछि भने फर्किदैनन् । राष्ट्र बैंकले समयमै सिक्का छाप्ने काम अघि नबढाएका कारण पनि सिक्काको छपाइमा ढिलाई भएको हो ।