काठमाडौँ, २६ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल ११ हजार ६६ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ११ हजार चार सय ६९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय ८९ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार चार सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय ७१ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा एक सय २५, ललितपुर जिल्लामा ४२ र भक्तपुर जिल्लामा चार जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय ५९ रहेको छ ।