काठमाडौं, वैशाख २० । सरकारले बिहीबार राति १२ बजेदेखि लागुु हुने गरी अन्तराष्ट्रिय (भारत बाहेक) उडान बन्द गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै प्रकारको व्यवसायिक अन्तराष्ट्रिय उडान बिहीबार राति १२ बजेदेखि बन्द हुने जनाएको छ । मन्त्रालयले आइतबार बसेको मन्त्रिपरिषद्ले उक्त बैठक गरे सँगै व्यवसायिक अन्तराष्ट्रिय उडान बन्द गरेको जनाएको छ ।
मन्त्रालयले भारतमा हप्ताको दुई उडान ‘ओपन विन्डो’को रुपमा हुने जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले वैशाख २३ गते राति १२ बजेदेखि ३१ गतेसम्म नेपाल आउने तथा नेपालबाट हुने सम्पूर्ण व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द भएको बताउनु भयो । यस्तै प्रवक्ता अधिकारीले नेपाल-भारत एयरबबल मार्फत् हुने उडान भने साताको दुई वटा उडान हुने बताउनु भयो । मन्त्रालयले आन्तरिक उडान पनि सोमबार बाट नै बन्द गरिने जनाएको छ ।
कोरोना संक्रमणलाई ध्यान दिदै अन्तराष्ट्रिय र आन्तरिक उडान बन्द गरेका हौं, प्रवक्ता अधिकारीले काठखबर सँग भन्नु भयो, कोरोना महामारीको चेन ब्रेक गर्नको लागि सरकारले पछिल्लो निर्णय लिएको हो । कोरोना महामारीको कारण भारत आक्रान्त भएको बेला पनि ‘ओपन विन्डो’को रुपमा भारतमा २ उडान हुने उहाँको भनाई छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय :
- मिति २०७८ वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म नियमित आन्तरिक हवाइ उडान स्थगन गर्ने।
- मिति २०७४ वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन गर्ने।
- आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने ।
- चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गर्ने ।
- स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधा अन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुई वटामा सीमित गर्ने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने। होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने । कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिइ यात्रा गराएमा सो उयडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने ।