काठमाडौं, बैशाख २१ । गत पुषको तुलनामा बैशाखमा १३ वटा बैंकहरुले बचतको ब्याज बढाएका छन् । एनआइसी एसियाले सबैभन्दा बढि यस्तो बचतको ब्याज बढाएको छ । गत पुषको तुलनामा सबैभन्दा बढि ब्याज बढाउनेमा एनआएसी एसिया रहेपनि अहिले सबैभन्दा बढि ब्याज भने सिभिल बैंकले दिएको छ ।
हालै बैकहरुले प्रकाशन गरेको ब्याजदर सम्वन्धि नयाँ तालिका अनुसार सिभिल बैंकले साधारण बचत खातामा नै ३ दशमलव पाँच पाँच देखि ५ दशमलव चार पाँच प्रतिशतसम्म ब्याज दिएको छ । जुन सञ्चालनमा रहेका बाणिज्य बैकहरुले दिएको मध्ये सबैभन्दा बढि ब्याज हो ।
साथै सबैभन्दा कम ब्याज दिनेमा भने नबिल बैंक रहेको देखिन्छ । जसले न्युनतम १ दशमलव पाँच एक देखि ३ दशमलव पाँच एक प्रतिशत मात्रै ब्याज दिन्छ । जबकी मुद्दति निक्षेपमा राख्नेलाई भने यसले ६ दशमलव पाँच एक प्रतिशत ब्याज दिएको छ ।
मुद्दति निक्षेपमा पनि सबैभन्दा बढि ब्याज दिने भने नबिल बैक होइन । किनभने प्राइम बैंकले १० वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ८ दशमलव पाचँ एक प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।
यसपाली बचतको ब्याज बढाउनेमा बैंक अफ काठमाडौं, नेपाल एसबिआई राष्ट्रिय बाणिज्य सानीमा, कषि बिकास र सिभिल छन् । मुद्दति निक्षेपमा बढिमा १ दशमलव एक पाँचसम्म बढाएका बैंकरुले साधारण बचतमा १ दशमलव सात पाच प्रतिशतसम्म बढाएको देखिन्छ ।
महामारीमा पनि किन बढ्यो ब्याज ?
तरलता अभाव हुन थालेपछि केहि बैंकहरुले पछिल्लो समय साधारण बचतको ब्याजदर बढाएर निक्षेप तान्न थालेका हुन् । निक्षेप संकलनका लागि बैशाख महिनामा करिब १३ वटा बैंकले बचतको ब्याजदर बढाएको देखिन्छ । मुद्दति निक्षेपमा भन्दा कम खर्चमै रकम जुटाउन सकिने भएपछि बैंकहरुले पछिल्लो समय यसलाई प्राथमिकता दिन थालेको बिश्लेषकहरु बताउँछन् ।
सञ्चालनमा रहेका २७ वटा बैंकमध्ये ८५ कर्जा पुजी निक्षेप अनुपात अर्थात सिसिडि रेसियो ८५ प्रतिशत हुनुपर्नेमा एक बैंकको नाघेको नाघेको, ४ वटाको ८३ माथि र १३ वटा बैंकको ८० प्रतिशत भन्दा बढि रहेको राष्ट्र बैंक बताउँछ । यसरी लगानी गर्ने पैसा अभाव हुने डरले पनि बैंकहरुले रकम बचतखाता मार्फत तान्न थालेका हुन् ।
बैकंहरुमा तरलता अभाव हुन थालेपछि बैंकहरुले मुद्दति निक्षेपको साटो साधारण बचतको ब्याज बढाएर रकम तान्ने नयाँ उपाय रचेका छन् । जसले बैकहरुलाई तरलता व्यवस्थापन गर्न सजिलो हन्छ ।
महामारीमा पनि बढ्यो कर्जा
राष्ट्र बैंकका अनुसार फागुनमसान्तसम्म सेयरमा जाने कर्जा मात्रै ६१ प्रतिशतले बढेको छ । नेप्से परिसुचक बढ्दै जाँदा बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्नेहरु पनि बढेका छन्। जसका कारण कर्जा बढेको देखिएको हो ।
त्यस्तै व्यवसाय पुन सञ्चालनका लागि लिइने कर्जा समेत बढेको छ। जसका कारण न पछिल्लो समय तरलता ३५ अर्बमा सिमित भएकोे छ । जबकी ंगत पुषको १५ मा यो २ खर्ब सम्म पुगेको नेपाल राष्ट्र बैंक बताउँछ ।
गत वर्षको चैत सम्म ९ खर्ब ८२ अर्बको आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात १३ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब पुगेको छ । आयातका लागिपनि व्यवसायीले रकम बैंकबाटै ऋण लिन्छन् । जसका कारण पनि ऋणको माग बढेको हो । तर यस्तो बढ्दो ऋणको मागका कारण साधारण बचतमा राख्ने बचतकर्ताले पनि बढि ब्याज पाएका छन्, जसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।