Kath khabar
सर्जक, संगीतकार र गायक एउटै मञ्चमा

काठमाडौं, कार्तिक २८। नेपाल व्हिल मिडियाको अग्रसरता र आयोजनामा गीतका सर्जकहरु, संगीतकारहरु र गायकहरु सम्मिलित राष्ट्रिय संगीत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं ज्ञानेश्वरस्थित एटिक रेष्टुरेन्टमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्रा.डा. कृष्णहरि बराल, बरिष्ठ शास्त्रीय गायिका तथा त्रिभुवन विश्वविद्यालय, ललितकला विभागीय प्रमुख प्रा.डा. संगीता प्रधान, बरिष्ठ गीतकार, लेखक, संगीतकार शुभ मुकारुङ, गायक योगेश्वर अमात्य लगायतका मूर्धन्य व्यक्तिहरूको उपस्थिति रहेको सो कार्यक्रम बीसौं वर्षदेखि कार्यक्रम प्रस्तुतिकरणमा अवच्छिन्न लागिरहनुभएका चर्चित प्रस्तोता शशि कुमार खड्काले सञ्चालन गर्नुभएको थियो ।

नेपाल व्हिल मिडियाका संस्थापक अध्यक्ष टेक बहादुर परियारको स्वागत मन्तव्य र संस्थाकी संरक्षक सो देवि परियारको दीप प्रज्वलन र आशिर्वचनबाट शुरु भएको उक्त कार्यक्रममा उपस्थित स्रष्टाहरुले गीत रचना, संगीत र गायनका विगत र वर्तमानका चुनौतीहरू, प्रविधिको उच्चतम् प्रविधिले निम्त्याएको गुणस्तरीय ह्रास, बौद्धिक चोरी, सञ्चार माध्यमबाट पाउनुपर्ने रोयल्टीको समस्या र समाधानमा निष्क्रिय सम्बन्धित निकाय साथै पुरानो संग्रहकर्ता रेडियो नेपालको भूमिका, त्यहीबाट हराएका कतिपय गीत, संगीत, बौद्धिक संग्रहमा राखिनुपर्ने कतिपय कृतिहरू अनधिकृत तवरले विदेशिएका तितो यथार्थका बारेमा प्रकाश पार्नुभएको थियो ।

आयोजक संस्था नेपाल व्हिल मिडियाका कार्यकारी प्रमुख सुरेश परियारले यस्ता अन्तरक्रिया कार्यक्रम अझै वृहत रुपमा गर्दै जाने र कमसेकम प्रत्येक २/२ वर्षमा एउटा वृहत सांगीतिक कार्यक्रम जसमा नयाँ, पुराना सबै समेटिने आयोजना गरी एउटा गीति संग्रह नै निकाल्ने योजनामा आफू दत्तचित्त भएर अघि बढिसकेको र सबैको सहयोग र साथको टड्कारो आवश्यकता रहेको तर्क दिनुभयो । उपस्थित सर्जकहरुले सो कार्यमा आ आफ्नो क्षेत्रबाट हातेमालो गरी सो कार्यलाई निरन्तरता दिन आफूहरू कदापि पछि नहट्ने प्रण गर्नुभयो ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update