
काठमाडौं, कात्तिक २८। नेपाली हास्यव्यङ्ग्य टेलिभिजन कार्यक्रमहरू निर्माण तथा बिक्री गर्ने मिडिया हव प्रा.लि. ले नयाँ सिरियल निर्माण गरेको छ । प्रत्येक साताको बिहीबार प्रसारण हुने उक्त सिरियलको नाम ‘तगारो’ राखिएको छ ।
समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथा बस्तुमा समाबेश गरिने तगारोलाई कृष्ण लामिछानेले निर्देशन गर्नुहुनेछ भने कृष्णलाई सरिता दुलालले लेखनमा साथ दिनुहुनेछ । मेरी बास्सैका निर्देशक समेत रहेका चर्चित कलाकार दमन रूपाखेती (घरज्वाई) निर्देशन सल्लाहकारका रुपमा रहनुभएको छ ।
सबै नयाँ कलाकार रहेको उक्त सिरियलमा कृष्ण लामिछाने, एन्जल बिएसके, आर.बि. शर्मा, ज्ञान बहादुर खड्का, निरज मोक्तान, नविन काफ्ले, प्रमिशा क्षेत्री लगायतका कलाकारहरुले अभिनय गर्नुहुने छ । मिडिया हवको प्रोडक्सनमा तयार गरिने उक्त सिरियललाई रेशम दर्लामीले खिच्नुहुने छ भने रबिन भट्ट, सरिता गौतम र अशोक चौधरीले सम्पादन गर्नुहुने छ ।
बिहीबार पहिलो भाग सार्वजनिक गरेको तगारोले दर्शकको राम्रो प्रतिकृया पाएको छ । सबै नयाँ कलाकार समावेश भएपनि कथा बस्तु र प्रस्तुतीकरणमा भने केही नयाँ गर्न खोजिएको छ । रमाइलो चैं के भने यो सिरियलले चर्चित टेलिचलचित्र सक्किगोनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एकातिर नयाँ कलाकारहरु, अर्कोतिर पछिल्लो पुस्ताका चलेका अनुहारहरु बीचको यो प्रतिस्पर्धाले तगारोलाई थोरै असर भने गर्नसक्ने देखिन्छ ।
मिडिया हवले यसअघि तितोसत्य, मेरीबास्सै, भद्रगोल, जिरे खुर्सानी, अति भो, उल्टो सुल्टो लगायतका हास्य टेलिचलचित्रहरु निर्माण गरिसकेको छ ।
भिडियो लिंक
https://youtu.be/0XsU4DMg8Ds