काठमाडौं, कार्तिक २८। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन सय छ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल नौ हजार छ सय छ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ११ हजार चार सय ७७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय ४८ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार दुई सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय १३ जना संक्रमित भएकाछन्। जसमध्ये काठमाडौं जिल्लामा ७६, ललितपुर जिल्लामा २९ र भक्तपुर जिल्लामा आठ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार चार सय ३० रहेको छ ।