काठमाडौं, कार्तिक २९ । आईसीसी टी –२० विश्व कपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराएको छ । न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायो ।
अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर आउट भए । यस्तै मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङतर्फ ट्रेन्ट बोल्टले दुई विकेट लिए ।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनायो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन बनाए । यस्तै मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जोश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए ।
यस पटक टी(२० विश्व कपले नयाँ च्याम्पियन पाएको छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी(२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएको थियो ।
आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया यसअघि सन् २०१० मा टी(२० विश्व कपको फाइनलसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो ।
न्युजिल्यान्ड भने पहिलो पटक यसपालि टी–२० विश्व कपको फाइनलमा पुगेको हो ।