काठमाडौं, कार्तिक २९ । राहदानी विभागले मंसिर १ गतेदेखि विद्युतिय राहदानी (इ–पासपोर्ट) वितरण गर्ने भएको छ । विभागले एक औपचारिक कार्यक्रम गरी मंसिर १ गतदेखि विद्युतिय राहदानी वितरण गर्ने बताएको छ । आधा महिना परिक्षणको रुपमा विद्युतिय राहदानी वितरण गरिने विभागका निर्देशक शरदराज आरनले बताउनु भयो । ‘१५ दिन परिक्षण र त्यसपछि आवश्यकता अनुसार वितरण गरिने उहाँले बताउनु भयो ।
विद्युतिय राहदानी भने सात किसिमका हुने छ । यसअघि कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक) , साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका जारी गर्दै आएको थियो । थप सेवा राहदानी हुन लागेको बताइएको छ । सेवा राहदानी विदेशस्थित नियोगमा खट्न जाने राजदूत, स्थायी प्रतिनिधि, महावाणिज्यदूत, वा राजपत्रांकित तहका कर्मचारीका साथ जाने निजी सहयोगी र श्रेणाीबिहीन कर्मचारीले पाउनु हुनेछ।आफ्नो कार्यकाल सकिएपछि त्यस्ता निजी सहयोगी र श्रेणीबिहीन कर्मचारीले यो राहदानी विभागमा फिर्ता गर्नुपर्ने हुन्छ।
यसैबीच विभागले हालसम्म ६९ लाख २६ हजार ५ सय १७ वटा राहदानी वितरण गरेको छ । यसमा अधिकांश मेसिन रेडियबल पासपोर्ट(एमआरपी) भएको बताईन्छ । विभागले आर्थिक वर्ष २०७७÷७८ मा मात्र तीन लाख ४९ हजार १ सय ७५ वटा राहदानी वितरण गरेको थियो । सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने युवाहरुले राहदानी लिने गरेको पाईनछ । एमआरपी अगाडि भने हस्तलिखित राहदानी नेपालमा प्रचलनमा रहेको थियो । अन्तराष्ट्रिय नागरिक उडडयान संगठन ( आइकाओ) ले एमआरपी अनिवार्य गरे सँगै नेपालमा हस्तलिखित राहदानी वितरण हुन नसकेको हो ।