काठमाडौं, कार्तिक ३० । नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ।
पहिलो खेल दिउँसो पौने पौने चार बजे दोहाको वेष्ट इन्ड पार्क रङ्गशालामा सुरु हुनेछ । कोरोना महामारीका कारण प्रतियोगिताबाट वञ्चित भएको नेपाली महिला टोलीले २३ महिनापछि आज क्रिकेट श्रृङ्खला खेल्दैछ ।
आईसीसी वुमन्स टी–२० विश्व कप अन्तर्गत एसिया छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टोलीले कतारसँग ३ वटा टी–२० खेलको श्रृङ्खला खेल्न लागेको हो ।
कतारसँग भोलि दोस्रो र पर्सि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ।
छनोटको पहिलो खेलमा नेपालले मंसिर ६ गते हङकङसँग, सात गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन्।
समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ।