काठमाडौं, कात्तिक ३०। नेपाल राष्ट्र बैंकले आज मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धीत पछिल्लो तीन महिनाको प्रतिवेदन सार्वजनिक गर्दे बैदेशिक व्यापार घाटा निराशाजनक रहेको देखाएको छ । चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा निर्यातसंगै आयात पनि उच्चरूपमा बढ्दा वैदेशिक व्यापार घाटा पनि बढेको देखिएको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु निर्यात एक सय नौ दशमलव पाँच प्रतिशतले वृद्धि भई ६५ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४७ दशमलव एक प्रतिशत, १९ दशमलव चार प्रतिशत र २७ दशमलब दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु आयात ६३ दशमलव सात प्रतिशतले वृद्धि भई चार खर्ब ७८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दशमलव सात प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८ दशमलव चार प्रतिशत, ५५ दशमलव दुई प्रतिशत र एक सय २४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८ दशमलव तीन प्रतिशतले वृद्धि भई चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १३ दशमलव छ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव छ प्रतिशत रहेको छ ।