काठमाडौं, वैशाख २१ । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपाली स्याट-२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैर सरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ ।
सो टोलीलाई नेपालको पहिलो अन्तरिक्ष नेपाली स्याट-२ को निर्माण प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले “ड्रिम प्रोजेक्टको” रुपमा नेतृत्व गर्दै आउनु भएको छ । कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म नेपाली स्याट-२ विद्यालय नामक स्याटलाइट निमार्णका लागि एउटा टिम निर्माण गर्नेछन् ।
जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली स्याट-२ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण, प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको छ । देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताउनुभयो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौं उपत्यका बाहिरका विपन्न तथा योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।