काठमाडौं, मंसिर १। नेपाल टेलिकमले सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी भएको छ। कर दिवसको अवसरमा सरकारले टेलिकमलगायत उत्कृष्ट करदातालाई सम्मान गरेको हो।
त्यसैगरी व्यक्तिगत रुपमा धेरै आयकर तिर्नेमा सिद्धार्थ शमशेर जबरा सम्मानित हुनु भएको छ । यो सँगै राणा हालसम्म सातपटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बन्नु भएको छ । उहाँले तिर्नु भएको करको रकम सार्वजनिक गरिएको छैन ।कुल करमा सबैभन्दा धेरै कर भने सूर्य नेपाल प्रालिले तिरेको छ। अघिल्ला वर्षहरुमा पनि सूर्य नेपालले सबैभन्दा बढी कर बुझाउँदै आएको थियो । गत वर्ष भने व्यक्तिगत उत्कृष्ट करदाताको सूचीमा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाह हुनु भयो ।
आन्तरिक राजस्व विभागले बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७७र७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरेको हो। विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ । त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी सम्मानित भएका छन् । छिमेक लघुवित्त वित्तीय संस्थालाई सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ । जलविद्युत्मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको जनाइएको छ । त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) सूर्य नेपालले तिरेको छ । त्यस्तै, घोराही सिमेन्टलाई पनि धेरै भ्याट तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ । मध्यमस्तरीय करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउनेमा भने कर्जा सूचना केन्द्र रहेको छ ।