भ्यान्कुवर, मंसिर १। क्यानडाको भ्यान्कुवर प्रान्त भयानक आँधीको चपेटामा परेको छ । सय वर्ष यताको सबैभन्दा भयान आँधी आएको भनिएको सो आँधीले सडक तथा रेलमार्गलाई पूर्णरुपमा क्षति पुराएको छ । आँधीबाट अहिलेसम्म एक महिलाको मृत्यु भएको छ भने दुई जना हराईरहेका छन् ।
गत सोमबारदेखि ब्यापक वर्षासंगै आएको आँधीबाट हजारौं मानिस घर छाड्न बाध्य भएका छन् । भ्यान्कुवरलाई बाँकी क्यानडासंग जोड्ने ट्रान्स क्यानडा राजमार्ग पानीमा डुबेको छ भने प्रान्तभित्रका आन्तरिक सडकहरु पनि क्षतविक्षत भएका छन् ।
भ्यान्कुवरबाट अमेरिका जाने एउटा मात्रै प्रवेश मार्ग संचालनमा रहेको र अन्य सडकको अवस्था विजोग रहेको जनाइएको छ । क्यानडाको सवैभन्दा ठूलो भ्यान्कुवर बन्दरगाहले बाढी र पहिरोका कारण सवै रेल सम्पर्कहरु बन्द गरेको छ जसका कारण इन्धन र खाद्यान्नलगायतको आपूर्ति प्रभावित बनेको छ ।
सो बन्दरगाहबाट दैनिक ४४ करोड डलर बराबरको सामग्री रवाना हुने गर्दछ । ब्रिटिस कोलम्वियाबाट हजारौं मानिसलाई अन्यत्र सारिएको छ । उच्च हिमाली शहर अगासिजमा हिउँमा थुनिएका कम्तिमा ३ सय मानिसलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातसंग आँधी आएकाले उद्धारमा समेत कठिनाई भईरहेको क्यानेडाली अधिकारीहरुको भनाई छ ।
वर्षा र हुरी बतास चल्ने क्रम मंगलबार साँझबाट रोकिए पनि सर्वत्र अलपत्र अवस्था देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गत ग्रीष्मकालमा ब्रिटिस कोलम्वियामा ५ सय जनाको ज्यान जाने गरी बढेको अहिलेसम्मकै उच्च तापमान पनि क्यानडाले यसै वर्ष दोस्रो प्राकृतिक विपत्ति सामना गर्नु परेको हो । एजेन्सी